चीनको खानी दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त


काठमाडौं – चीनको शान्शी प्रान्तमा भएको खानी दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको जनाएको छ ।

सरकारले दुर्घटनापछि अझै बेपत्ता रहेका नागरिकहरूको सकुशल उद्धारको कामना पनि गरेको छ । प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा नेपाल सरकार र नेपाली जनता मित्रराष्ट्र चीनको यस कठिन घडीमा साथमा रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “चीनको शान्शीमा भएको दुःखद खानी दुर्घटनाबाट गहिरो दुःख लागेको छ । ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । बेपत्ताहरूको सुरक्षित उद्धारको कामना गर्दछौँ ।”

स्थानीय समयअनुसार शुक्रबार साँझ ७ः२९ बजे भएको विस्फोटका बेला खानीमा २४७ जना कामदार कार्यरत रहेको जनाइएको छ । दुर्घटनामा कम्तीमा ९० जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया