गुण्डुमा एमाले सचिवालय बैठक


काठमाडौं-  नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सुरू भएको छ।

बैठकमा पार्टीको समग्र अवस्था, आगामी निर्वाचनको तयारी तथा संगठनात्मक विषयमा छलफल भइरहेको एमालेले जनाएको छ।

पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार आजको बैठकमा १२ जना पदाधिकारीले धारणा राख्ने कार्यसूची तय गरिएको छ। त्यसपछि नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने बताइएको छ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा एमालेका चार उपाध्यक्षहरूले अध्यक्ष ओलीलाई नेतृत्वबाट अलग हुन सुझाव दिएका थिए। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले पार्टीमा नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए।

नेतृत्व छाड्न प्रस्ताव आएपछि अध्यक्ष ओली नेताहरूसँग आक्रोशित बनेको स्रोतले जनाएको छ। ओलीले बैठकमा धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आपत्ति जनाएका थिए।

प्रतिक्रिया