
विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख महेन्द्र दासविरुद्ध घुस मुद्दा दायर
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी विद्युत लाइन जडान गरिदिने प्रयोजनमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दासले चार्जिङ स्टेसन सञ्चालनका लागि विद्युत लाइन छाडिदिन बार्गेनिङ गर्दै घुस नदिए लाइन काटिदिने धम्की दिएको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा उनले नियमानुसार सम्पन्न भइसकेको कामका लागि समेत घुस मागेर रकम लिएको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ ।
दासविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार कसुरमा मुद्दा दायर गरिएको छ । आयोगले एक लाख ४० हजार रुपैयाँ बिगो कायम गर्दै सोहीअनुसार जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।



कागजपत्र |
