लाइसेन्स र ट्रायलको रिजल्टमा नागरिकता नम्बर सार्वजनिक गर्न नपाइने


काठमाडौं- सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाको नतिजा प्रकाशन गर्दा परीक्षार्थीको नागरिकता नम्बर सार्वजनिक गर्ने प्रचलनलाई गोपनीयताको हकविपरीत ठहर गरेको छ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले यातायात व्यवस्था कार्यालयहरूले नतिजा प्रकाशनका क्रममा नाम र रोल नम्बरका अतिरिक्त नागरिकता नम्बरसमेत सार्वजनिक गर्दै आएको अभ्यास संविधान र कानुनविपरीत भएको फैसला सुनाएको हो।

अदालतले अब उपरान्त नतिजा प्रकाशन गर्दा नागरिकता नम्बर नराखी केवल नाम र रोल नम्बर मात्र सार्वजनिक गर्न परमादेश जारी गरेको छ।

त्रिभुवन विश्वविद्यालय, कानुन संकायमा अध्ययनरत विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। यातायात व्यवस्था कार्यालय एकान्तकुना, ठूलो भर्‍याङ, चाबहिल र राधेराधे लगायतले फेसबुक पेज तथा सूचना पाटीमार्फत नागरिकता नम्बरसमेत सार्वजनिक गर्दै आएका थिए।

फैसलामा संविधानको धारा २८ ले प्रत्येक व्यक्तिको गोपनीयताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै नागरिकता नम्बर संवेदनशील व्यक्तिगत विवरण भएकाले यसको सार्वजनिकरण गोपनीयताको हनन हुने ठहर गरिएको छ।

अदालतले डिजिटल युगमा नागरिकता नम्बरको दुरुपयोगबाट साइबर अपराध, ठगी तथा अन्य जोखिम बढ्न सक्ने भन्दै यस्तो अभ्यास रोक्न आवश्यक रहेको उल्लेख गरेको छ।

वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ अनुसार नागरिकता विवरण व्यक्तिगत सूचना अन्तर्गत पर्ने भएकाले यसलाई सार्वजनिक गर्न कानुनी आधार नभएको पनि सर्वोच्चको ठहर छ।

 

प्रतिक्रिया