पश्चिम बंगालमा भाजपाको भारी अग्रता


नयाँ दिल्ली- पश्चिम बंगाल विधानसभा चुनावको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) ले भारी अग्रता लिँदै स्पष्ट बहुमततर्फ अघि बढिरहेको संकेत देखिएको छ। सुरुवाती नतिजाअनुसार भाजपाले निर्णायक अग्रता कायम गरेको छ, जसले राज्यको राजनीतिक समीकरण नै बदल्ने संकेत दिएको हो।

पछिल्लो तथ्याङ्कअनुसार भाजपा करिब १८५ सिटमा अग्रतामा देखिएको छ भने ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस (टीएमसी) करिब १०० सिटमा मात्र सीमित देखिएको छ। २९४ सिट रहेको विधानसभामा बहुमतका लागि १४८ सिट आवश्यक पर्छ, तर भाजपा यो सीमा निकै पार गर्दै अघि बढेको देखिएको छ।

स्ट्राइक रेटको हिसाबले हेर्दा २९१ सिटमा चुनाव लडेको तृणमूल कांग्रेसले करिब ३४ प्रतिशत प्रदर्शन गरेको देखिएको छ, जुन अघिल्लो निर्वाचनको तुलनामा उल्लेखनीय गिरावट हो। त्यस्तै, २९४ सिटमा उम्मेदवारी दिएको भाजपाले ठूलो संख्यामा अग्रता लिँदै ऐतिहासिक जिततर्फ उन्मुख भएको देखिन्छ।

यता, वामपन्थी दल र कांग्रेसले अत्यन्तै कमजोर नतिजा रहेकाे छ। कांग्रेसले यसपटक खाता खोल्न नसकेको देखिएको छ भने एक समय राज्यमा प्रभुत्व जमाएको सीपीएम केवल एक सिटमा सीमित भएको प्रारम्भिक नतिजाले देखाएको छ।

विश्लेषकहरूका अनुसार अहिलेको गति कायम रहेमा भाजपाले सहजै १९० सिट पार गर्न सक्ने र अन्तिम नतिजासम्म २०० सिटको आँकडा समेत छुन सक्ने सम्भावना देखिन्छ। यद्यपि केही क्षेत्रमा भने कडा प्रतिस्पर्धा जारी रहेको बताइएको छ।

प्रतिक्रिया