पहिरोका कारण मुग्लिन–पोखरा सडकखण्ड पूर्ण अवरुद्ध


तनहुँ – लगातारको वर्षाका कारण पहिरो खस्दा मुग्लिन–पोखरा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ स्थित मुसे खोलामा सडकभन्दा करिब ५० मिटरमाथिबाट ढुंगा, हिलो र लेदोसहितको पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो।

पहिरो पन्छाउन नेपाल प्रहरी र सडक डिभिजन कार्यालयको संयुक्त टोली घटनास्थलमा खटिएको छ। तर, माथिबाट अझै ढुंगा खसिरहेकाले र वर्षा जारी रहेकाले तत्काल सडक खुलाउने काम प्रभावित भएको प्रहरीले जनाएको छ।

प्रहरीले जोखिम अझै कायम रहेकाले उक्त सडकखण्ड प्रयोग नगर्न र वैकल्पिक मार्ग अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

वर्षायामसँगै पहिरोको जोखिम बढ्दै गएकाले सावधानी अपनाउन र अनावश्यक यात्रा नगर्न सम्बन्धित निकायले चेतावनी दिएका छन्।

प्रतिक्रिया