
भाेली बिहान ७ बजेदेखि काठमाडाैंका सुकुम्बासी बस्तीमा डाेजर चलाउँदै सरकार, आज साँझसम्म घरटहरा खाली गर्न निर्देशन
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका अनधिकृत, जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न सूचना उर्दी जारी गरेको छ । वैशाख १८ गते बिहान ७ बजे काठमाडौँका विभिन्न स्थानबाट त्यस्ता बस्ती खाली गर्ने चेतावनी दिँदै प्रशासनले आज साँझसम्म घरटहरा खाली गर्न निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्ला भित्रका विभिन्न नदी किनारामा रहेका अनधिकृत र जोखिमपूर्ण बस्तीहरू खाली गर्ने तयारी पूरा गरेको जनाएको छ। प्रशासनले एक सूचना जारी गर्दै आगामी वैशाख १८ गते बिहान ७:०० बजेदेखि यस्ता बस्तीहरू हटाउने कार्य एकैसाथ सुरु हुने जानकारी दिएको छ।
नदी किनाराका सरकारी, पर्ति, सार्वजनिक र व्यक्तिका निजी जग्गाहरू समेत अतिक्रमण गरी वर्षौंदेखि बस्दै आएका बस्तीहरूलाई मानवीय उद्धार र विपद् जोखिम न्यूनीकरणका लागि खाली गर्न लागिएको प्रशासनले जनाएको छ। सूचना अनुसार आज साँझसम्म त्यस्ता घर टहराहरू पूर्ण रूपमा खाली गरिसक्नुपर्नेछ।
प्रशासनले जोखिमपूर्ण बस्तीमा रहेका बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र बालबालिकाहरूलाई सर्वप्रथम सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। यस कार्यमा सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीलाई तयारी अवस्थामा राखिएको छ। बिरामीहरूको लागि एम्बुलेन्स सेवा समेत उपलब्ध गराइने सूचनामा उल्लेख छ।
वास्तविक रूपमा आश्रय लिनुपर्ने व्यक्ति र परिवारका लागि नेपाल सरकारले तत्कालका लागि व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था मिलाउने र वास्तविक भूमिहीनहरूको पहिचान गरी दीर्घकालीन समाधान खोजिने आश्वासन प्रशासनले दिएको छ। साथै, बालबालिकाहरूको शिक्षाको प्रबन्ध समेत सरकारले गर्ने प्रतिबद्धता जनाइएको छ।
प्रशासनले कसैको गलत हल्ला वा अफवाहमा नलाग्न आग्रह गर्दै नक्कली भूमिहीन बनेर सरकारी जग्गा ओगट्नेहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। सूचनाको अवज्ञा गरी बस्दा घर टहरा भत्किई थप क्षति पुगेमा त्यसको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम अर्यालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।



कागजपत्र |

