
बागलुङ उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबीच समझदारी
बागलुङ – बागलुङ जिल्लाको आर्थिक विकास, पर्यटन प्रवर्द्धन र व्यावसायिक सुधारका लागि दुई ठूला संस्थाहरूबीच महत्वपूर्ण सम्झौता भएको छ। बागलुङ उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाज बीच जिल्लाको चौतर्फी विकासका लागि ८ बुँदे साझा सहमति पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य र अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा जिल्लाका १० वटै पालिकामा कृषि, वन, लघु उद्यम, पर्यटन र जलस्रोत लगायतका क्षेत्रमा प्रत्येक पालिकामा १० वटा परियोजनाको सम्भाव्यता अध्ययन गर्न विज्ञसहितको टोली परिचालन गरिने जनाइएको छ । त्यस्तै जिल्लाका युवा, महिला र नागरिकहरूका लागि वित्तीय साक्षरता तथा उद्योग व्यापार सम्बन्धी परामर्श सेवा प्रदान गरिने जनाइएको छ ।
त्यस्तै कम्तीमा १०० वटा व्यावसायिक योजनाको विस्तृत प्रतिवेदन तयार पार्न दुवै संस्थाले प्राविधिक र आर्थिक सहयोग गर्ने योजना रहेको पनि जनाइएको छ । त्यस्तै स्थानीय उत्पादनको ब्रान्डिङका लागि ‘बागलुङ कोसेली घर’ को स्थापना गरि सञ्चालन गरिने समेत जनाइएको छ ।
त्यस्तै विकास निर्माणका अतिरिक्त प्राकृतिक विपद् र महामारीका समयमा पनि दुवै संस्थाले आपसी समन्वयमा परोपकारी कार्यहरू गर्ने सहमति भएको छ। यस कार्यका लागि सरकारी निकाय, निजी क्षेत्र र विदेशमा रहेका विभिन्न नेपाली समाजहरूसँग समेत समन्वय गरिने बताइएको छ।
उक्त सम्झौता कार्यक्रममा अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव प्रेमसागर पौडेल र उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम र सह-कोषाध्यक्ष चन्द्रराज रेग्मीको उपस्थिति रहेको थियो।



कागजपत्र |
