
पर्याप्त मौज्दात हुँदाहुँदै पनि फुल ग्यास सिलिन्डर बिक्री नगर्ने निगमको निर्णय
काठमाडौं- बजारमा खाना पकाउने ग्यास (एलपीजी) पर्याप्त मौज्दात रहेको चर्चा भइरहँदा नेपाल आयल निगमले भने तत्काल १४.२ केजीको पूर्ण सिलिन्डर बिक्री खुला नगर्ने स्पष्ट पारेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको अनिश्चितता र आपूर्तिको दीर्घकालीन सुनिश्चितता नभएको भन्दै निगमले हाल सञ्चालनमा रहेको ७.१ केजीको आधा सिलिन्डर प्रणालीलाई नै निरन्तरता दिने जनाएको हो।
ग्यास उद्योगीहरूले स्टक अत्यधिक रहेको र बुलेटमै ग्यास थन्किएको दाबी गर्दै पूर्ण सिलिन्डर बिक्री सुरु गर्न दबाब दिइरहेका छन्। तर, निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार परिस्थितिको समग्र विश्लेषण नगरी कुनै नयाँ निर्णय लिइने छैन।
उनले पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण आपूर्ति श्रृंखला जुनसुकै बेला प्रभावित हुन सक्ने जोखिम औंल्याउँदै भने, “अहिले १४.२ केजीको सिलिन्डर बजारमा पठाउने बित्तिकै माग ह्वात्तै बढ्छ। यदि आपूर्तिमा अवरोध आयो भने त्यसको ग्यारेन्टी कसले गर्ने ?”
निगमका अनुसार हाल ७.१ केजीको सिलिन्डरले उपभोक्ताको माग धानिरहेको छ र उपभोक्ताबाट खासै गुनासो पनि नआएकाले तत्काल जोखिम मोल्ने अवस्था छैन।
उता, उद्योगीहरूले भने स्टक धेरै भएको भन्दै पूर्ण सिलिन्डर खुला गर्न माग गरिरहेका छन्। निगमले भने उद्योगहरूमा ग्यास थन्किनुको वास्तविक कारण र तथ्यांकको अध्ययन भइरहेको जनाएको छ।
निगमका अनुसार अप्रिल महिनाको पहिलो १५ दिनमै करिब १८ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ। विगतमा मासिक ४०–५० हजार मेट्रिक टन आयात हुँदा पनि अभाव देखिएको अनुभवका आधारमा अहिलेको सहज अवस्था बिग्रिन नदिने रणनीतिमा निगम रहेको जनाएको छ।



कागजपत्र |
