कोरोना त्रासकैबीच आन्तरिक पर्यटकको भिड, व्यवसायी उत्साहित


धनगढी – कोरोना त्रासकैबीच पनि मुलुकका विभिन्न जिल्लाहरुमा आन्तरिक पर्यटकको चहलपहलको मात्रा बढेको छ । पर्यटको चहलपहल बढ्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित चिसापानीमा रहेको कर्णाली पुलमा आन्तरिक पर्यटकको भिडभाड बढेको छ । पर्यटकले कर्णाली पुल र चिसापानी बजार भरिभराउ हुने गरेको छ ।

नयाँ वर्षको दिन मात्रै १५ हजारभन्दा बढी आन्तरिक पर्यटकले कर्णाली पुलको अवलोकन गरेको वडाध्यक्ष भक्त चलाउनेले बताए । उनकाअनुसार नयाँ वर्षको दिन मात्रै नभएर कर्णाली पुलमा अहिले दैनिक नै आन्तरिक पर्यटकको भिड हुने गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख तथा प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीका अनुसार सो क्षेत्रमा सबैभन्दा बढी टिकटक बनाउनेका भिड हुने गरेको छ ।

उनले भने, ‘सार्वजनिक बिदाको दिन हजारौको संख्यामा युवाहरू टिकटक बनाउन कर्णाली पुलमा पुग्ने गरेका छन् ।’ पर्यटकको भिडभाड भएपछि चिसापानीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । कर्णाली पुलमा कैलाली होटल व्यवसायी संघले ७८ वटा नेपाली झण्डसमेत राखेको छ ।

गोदावरीमा पनि उस्तै भिड

कैलालीको गोदावरी नगरपालिकामा दशकौँ अगाडि निर्माण भएको जीर्ण काठे पुलमा पनि आन्तरिक पर्यटकको भिड हुने गरेको छ । नयाँ बर्षको दिन गोदावरीको पुल र वरपरको क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ थियो । उक्त पुल अवलोकन गर्न दैनिक सयौको संख्यामा आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् ।

 

प्रतिक्रिया