सुदूरपश्चिमलाई पराजित गर्दै आर्मीले जित्यो पिएम कप २०२६ को उपाधि


काठमाडाैं- त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री क्रिकेट प्रतियोगिता (पिएम) कपमा अपराजित रहँदै उपाधि हात पारेको छ।

शुक्रबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो। विरगन्जस्थित नारायणी क्रिकेट मैदानमा सुदूरले दिएको १६२ रनको लक्ष्य पछाएको आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

आर्मीको लागि इम्रान शेखले सर्वाधिक ४६ रन बनाए। त्यस्तै, बसिर अहम्मदले ४५ रन बनाउँदा कप्तान तथा विकेटकिपर विनोद भण्डारी २ रनमै आउट भए। त्यस्तै, भीम सार्की ४ रन जोड्दा कुशल मल्लले १७ रन थपे।

सुदूरका लागि हेमन्त धामीले २ विकेट लिए भने शेर मल्ल र अशोक धामीले समान १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरले ३९.४ ओभरमा १६१ रन बनाएर अलआउट भयो। सुदूरको लागि अशोक धामीले सर्वाधिक ४३ रन बनाए । ४६ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे। कप्तान शेर मल्ल १ रन बनाएर आउट हुँदा किरण ठगुन्नाले ३५ रन जोडे।

आर्मीका लागि शाहब आलम र आकाश चन्दले समान ३/३ विकेट हात पारे ।

प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया