
मन्त्री होइन, सेवाग्राही खुसी पार्नुस्: मन्त्री रावल
काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले कर्मचारीहरूलाई नागरिक सर्वोच्चताको भावनाअनुसार काम गर्न निर्देशन दिएकी छन्।
मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन स्पष्ट निर्देशन दिइन्।
सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनियमितताप्रति कडा रुख अपनाउँदै उनले यस्ता गुनासो शून्यमा झार्नुपर्ने बताइन्। सेवाग्राहीले दुःख पाएको गुनासो आए सम्बन्धित कर्मचारीले कानुनअनुसार कारबाही भोग्नुपर्ने चेतावनी पनि उनले दिइन्।
“मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्,” मन्त्री रावलले भनिन्, “कसैको दबाब वा प्रभावमा होइन, कानुनमा टेकेर काम गर्नुस्।”
नापी र मालपोत कार्यालयमा सेवाग्राहीले सबैभन्दा बढी सास्ती खेप्ने गरेको उल्लेख गर्दै उनले अब ती कार्यालयबाटै सहज सेवा पाइन्छ भन्ने विश्वास दिलाउनुपर्नेमा जोड दिइन्।



कागजपत्र |
