
कतारमा रहेकी भाउजूको नाममा एसईई परीक्षा दिने नन्द पक्राउ
इनरुवा- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेकी छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेकी हरिनगर–६ की २० वर्षीया नुसरत खातुनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशव थेबेका अनुसार खातुनले आफ्नी भाउजू सलमा अजहरको नाममा जारी गरिएको प्रवेशपत्र प्रयोग गरेर परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको हो। उनले पहिलो दिनदेखि नै लगातार परीक्षा दिँदै आएकी भए पनि आज नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
भोक्राहा–२ स्थित जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत सलमा अजहर हाल कतारमा रहेको खुल्न आएको छ।
नक्कली परीक्षार्थी बनेर परीक्षा दिनु शिक्षा ऐनविपरीत हुने भएकाले खातुनलाई सोहीअनुसार कानुनी कारबाही गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन्।



कागजपत्र |
