
१२ वर्षदेखि अलपत्र घुमाउने पुल निर्माण तत्काल अघि बढाउन निर्देशन
दमौली- विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो ।
संशोधित डिजाइन स्वीकृत भइसकेपछि तेस्रो पक्षबाट समेत जाँच गरिएको आधारमा अब निर्माण प्रक्रिया अघि बढाउन भनिएको हो ।
विसं २०७० मा सुरु भएको यो आयोजना १२ वर्षसम्म अधुरै छ । पटक–पटक म्याद थपिँदा पनि हालसम्म करिब ३६ प्रतिशत मात्रै काम भएको छ । पुलका दुवै किनारमा पिलर ठडिए पनि संरचना पूरा हुन सकेको छैन ।
पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या भइरहेको छ । मोटरसाइकल बाहेक अन्य सवारी नदी पार गर्न नसक्ने अवस्था छ ।
निर्माण सम्पन्न भए पोखरा–नारायणगढ दूरी करिब २३ किलोमिटर छोटिनेछ । अहिले पुल नहुँदा यातायात सेवा बीचमै रोकिने अवस्था छ ।
नयाँ म्याद अनुसार अब २०८३ असारसम्म पुल निर्माण सक्ने लक्ष्य राखिएको छ ।



कागजपत्र |
