मध्यपूर्व युद्धमा १ नेपालीको मृत्यु, २१ घाइते


काठमाडौं-  मध्यपूर्वमा जारी युद्धका क्रममा हालसम्म २१ नेपाली घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित प्रेस ब्रिफिङमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार आक्रमण प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था अनुगमन भइरहेको छ। युद्धका कारण सिर्जित असहज परिस्थितिबीच नेपालीहरूको विवरण संकलन तथा सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराएका छन्।

प्रवक्ता क्षेत्रीले पछिल्लो समय फोन गरेर आफू असुरक्षित रहेको जानकारी गराउने नेपालीहरूको संख्या क्रमशः घट्दै गएको पनि बताए। मन्त्रालयले आवश्यक परे थप उद्धार तथा सहयोगका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

प्रतिक्रिया