५ रुपैयाँको बेकिङ पाउडरबाट अर्बौंको घोटाला ! सगरमाथामा चल्दै थियो यस्ताे ‘स्क्याम’


काठमाडौं- सगरमाथा क्षेत्रमा विदेशी पर्यटकलाई लक्षित गरी गरिएको संगठित ‘फेक रेस्क्यु’ ठगी प्रकरणले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा पाएको छ। यस घटनाले नेपालको उच्च हिमाली पर्यटनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

आजतक, न्यूज १८, टाइम्स अफ इन्डिया, द इन्डिपेन्डेन्ट लगायतका प्रतिष्ठित सञ्चारमाध्यमहरूले ट्रेकिङ गाइड, हेलिकप्टर कम्पनी र अस्पतालबीचको मिलेमतोमा करिब २० मिलियन अमेरिकी डलर (झन्डै ३ अर्ब रुपैयाँ) बराबरको ठगी भएको विषयलाई प्रमुखताका साथ उठाएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यस प्रकरणमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गाइडहरूले नै विदेशी पर्यटकलाई बिरामी बनाउने र त्यसपछि महँगो हेलिकप्टर उद्धार गर्न बाध्य पार्ने गरिएको उल्लेख गरेका छन्।

अनुसन्धानअनुसार शेर्पा गाइड, हेलिकप्टर सञ्चालक र अस्पतालका कर्मचारीबीचको मिलेमतोमा नक्कली बीमा दाबीमार्फत ठूलो रकम ठगी गरिएको खुलेको छ। पर्यटकलाई बिरामी देखाउन उनीहरूको खानामा गोप्य रूपमा बेकिङ सोडा मिसाउने, अत्यधिक औषधि खुवाउने र धेरै पानी पिउन बाध्य पार्ने जस्ता अमानवीय अभ्यास अपनाइएको पाइएको छ।

केही घटनामा पर्यटकलाई कमजोर बनाउन  कुखुराको काँचो मासु वा अशुद्ध वस्तु मिसाएर ‘फुड प्वाइजन’ गराइएको समेत उल्लेख छ। यस्तो अवस्थामा गाइडहरूले पर्यटकलाई तत्काल हेलिकप्टर उद्धार नगरे ज्यान जान सक्ने डर देखाएर उद्धारका लागि राजी गराउने गरेका थिए।

त्यसपछि एउटै हेलिकप्टरमा ल्याइएका पर्यटकहरूका लागि छुट्टाछुट्टै चार्टर उडान देखाएर बीमा कम्पनीबाट बढी रकम असुल्ने गरिएको थियो। करिब ४ हजार डलर पर्ने उडानलाई १२ हजार डलरसम्म देखाएर बिलिङ गरिने गरिएको अनुसन्धानमा खुलेको छ।

अस्पतालहरूको भूमिकासमेत शंकास्पद देखिएको छ। नक्कली मेडिकल रिपोर्ट, डिजिटल हस्ताक्षरको दुरुपयोग तथा झूटा भर्ना विवरण बनाएर बीमा कम्पनीलाई महँगो बिल पठाउने गरिएको पाइएको छ। कतिपय अवस्थामा पर्यटक सामान्य अवस्थामा रहे पनि उनीहरूको नाममा आईसीयू उपचार भइरहेको देखाएर बिलिङ गरिएको उल्लेख छ।

सन् २०२२ देखि २०२५ सम्म मात्रै यस्ता ३०० भन्दा बढी फेक रेस्क्युका घटना भएको र करिब ४ हजार ७८२ विदेशी आरोही प्रभावित भएको तथ्य सार्वजनिक भएको छ। संकलित रकमको २० देखि २५ प्रतिशतसम्म हिस्सा गाइड, ट्रेकिङ एजेन्सी र हेलिकप्टर कम्पनीबीच कमिसनका रूपमा बाँडफाँट हुने गरेको पनि खुलेको छ।

हालसम्म यस प्रकरणमा संलग्न ३२ जनाविरुद्ध संगठित अपराध र ठगी मुद्दा दायर गरिएको छ। केही पक्राउ परिसकेका छन् भने केही अझै फरार छन्।

सीआईबी प्रमुख मनोज कुमार केसीका अनुसार विगतमा यस्ता अपराधमा कडा कारबाही नहुँदा यो प्रवृत्ति मौलाएको हो। विदेशी बीमा कम्पनीहरूले अस्वाभाविक रूपमा धेरै दाबी आउन थालेपछि यस ठगी सञ्जालबारे अनुसन्धान सुरु गरिएको थियो।

प्रतिक्रिया