
वर्षाले रोकिएसँगै बीपी राजमार्ग सञ्चालनमा
काभ्रेपलाञ्चोक – वर्षा रोकिएसँगै बीपी राजमार्गमा यातायात पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहका अनुसार मंगलबार बेलुकीदेखि वर्षा कम भई जोखिम घटेपछि रोकिएको सवारी आवागमन खुलाइएको हो।
मंगलबार साँझ करिब ७ बजेदेखि पनौती, नमोबुद्ध र दाप्चा क्षेत्रमा परेको भारी वर्षाका कारण चौकीडाँडा–नेपालथोक खण्डमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै यातायात अस्थायी रूपमा रोकिएको थियो।
वर्षा थामिएपछि काभ्रेभन्ज्याङ र नेपालथोकमा होल्ड गरेर राखिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
हाल निर्माणाधीन अवस्थामा रहेको बीपी राजमार्गअन्तर्गत चौकीडाँडादेखि नेपालथोकसम्म रोशी खोलामै बनाइएको अस्थायी डाइभर्सन प्रयोग गरी सवारी सञ्चालन भइरहेको छ।



कागजपत्र |
