
सर्वोच्चमा ओलीको बन्दी प्रत्यक्षीकरण रिट दर्ता, सोमबारका लागि पेशी
काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन्।
ओलीको पक्राउ गैरकानूनी रहेको दाबी गर्दै तत्काल रिहा गर्न मागसहित आइतबार उक्त रिट दर्ता गरिएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार निवेदन दर्ता भई सोमबारका लागि पेशी तोकिएको छ।
प्रहरीले पूर्वप्रधानमन्त्री ओलीलाई शनिबार बिहान करिब ६ बजे ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरेको थियो।
जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर भएको मृत्यु प्रकरणमा अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई पक्राउ गरिएको जनाइएको छ।
अब सर्वोच्च अदालतमा हुने सुनुवाइपछि ओलीको पक्राउको वैधताबारे निर्णय हुने अपेक्षा गरिएको छ।



कागजपत्र |
