कारबाही कानुनी प्रक्रियाअनुसार गर्न कांग्रेसको आग्रह


काठमाडौं- नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएका घटनाका दोषीमाथि कारबाही गर्दा आवेग वा राजनीतिक दबाबमा होइन, विधिसम्मत कानुनी प्रक्रियाअनुसार अघि बढ्न सरकारलाई आग्रह गरेको छ।

शनिबार पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा कांग्रेसले पछिल्लो सरकारी कदमलाई ‘सेलेक्टिभ’ र पूर्वाग्रही भएको आरोप लगाउँदै यसले विधिको शासन कमजोर पार्ने चेतावनी दिएको छ। पार्टीले सुरुदेखि नै ती घटनाको निष्पक्ष, पारदर्शी र कानुनसम्मत छानबिनको माग गर्दै आएको पनि जनाएको छ।

कांग्रेसका अनुसार भदौ २५ गते नै उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिएको थियो भने भदौ २७ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने निर्णय गरेको थियो।

पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पुनः माग गर्दै सञ्चारमाध्यममा आएका विवरणले प्रतिवेदन एकपक्षीय र अपूर्ण देखिएको टिप्पणी गरेको छ। कांग्रेसले भदौ २३ का घटनालाई विस्तृत रूपमा समेटिए पनि २४ गतेका घटनालाई बेवास्ता गरिएको दाबी गरेको छ।

त्यस्तै, मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयनमा देखाएको हतारो र केही व्यक्तिमाथि तुरुन्तै गरिएको पक्राउप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ। पार्टीले यस्तो शैलीले कानुनी प्रक्रियालाई कमजोर बनाउने र राजनीतिक पूर्वाग्रह झल्काउने आरोप लगाएको छ।

प्रतिक्रिया