ओली र लेखकलाई आइतबारमात्र अदालत उपस्थित गराइने


काठमाडौं – शनिबार एकैसाथ पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धानका लागि अनुमति लिन अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यस प्रक्रियाअन्तर्गत उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौंमा लगिनेछ।

कानुनी प्रावधानअनुसार, प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अधिकतम २४ घण्टा हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ। तर हिरासत विस्तारका लागि जिल्ला अदालतबाट अनुमति लिन आवश्यक छ।

प्रहरीले आइतबारको पेशीमा अदालतबाट आवश्यक अनुमति लिएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ।

यतिबेला उनीहरु दुवै जनालाई स्वास्थ्य परिक्षणका लागि टिचिङ अस्पताल लगिएको छ । आज उनीहरुलाई २ नम्बर प्रहरी गणमा राख्ने तयारी गरिएको छ ।

प्रतिक्रिया