
३६ वर्षीय बालेनकाे यात्रा: मेयरदेखि प्रधानमन्त्रीसम्म
काठमाडौं- ३६ वर्षीय बालेन्द्र शाह (बालेन) नेपालका ४३ औं प्रधानमन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह संविधानको धारा ७६(१) बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन्।
शीतलनिवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट निर्वाचित बालेनले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई करिब ५० हजार मतान्तरले पराजित गरेका थिए। उनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत मात्र पाएका थिए।
यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहेका बालेनले २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका थिए। उनले ६१ हजार ७६७ मत प्राप्त गर्दै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठलाई पराजित गरेका थिए, जसले ३८ हजार ३४१ मत प्राप्त गरेकी थिइन्। मेयर पदबाट उनले २०८२ माघ ४ गते राजीनामा दिएका थिए।
छोटो अवधिमै राजनीतिक यात्रामा तीव्र उक्लँदै प्रधानमन्त्री पदमा पुगेका बालेनलाई २०८२ भदौको जेनजी आन्दोलनपछि अगुवाहरूले प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर उनले उक्त प्रस्ताव अस्वीकार गर्दै रास्वपाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। रास्वपाले उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावमा सहभागी भएको थियो। निर्वाचनमा पार्टीले १८२ सिट जित्दै ठूलो शक्ति बनाएको थियो, जसबाट बालेन प्रधानमन्त्री बनेका हुन्।
०४७ वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक स्व. रामनारायण शाह र ध्रुवदेवी शाहका सुपुत्र हुन्।
बालेन सिभिल इन्जिनियर, संरचनात्मक अनुसन्धानकर्ता, लेखक तथा कलाकार पनि हुन्। चर्चित र्यापरका रूपमा समेत परिचित उनले दुई दर्जनभन्दा बढी र्याप कम्पोज गरेका छन्, जसमा भ्रष्टाचारविरोध, सुशासन, युवा तथा सामाजिक मुद्दाहरू प्रमुख विषयवस्तु रहेका छन्।
मेयरका रूपमा कार्यकालमा उनले अवैध संरचना हटाउने, फुटपाथ व्यवस्थापन तथा सहरी सुधारमा पहल गरेका थिए। पुल, सडक तथा भवन डिजाइन र निर्माणमा अनुभव बटुलेका उनले सम्पदा संरक्षण, नेवार वास्तुकला प्रवर्द्धन तथा पर्यटनमार्फत आर्थिक विकासमा जोड दिएका छन्। २०७२ को भूकम्पपछि पुनर्निर्माण तथा राष्ट्रिय विकासका कार्यमा पनि उनले योगदान दिएका थिए।
हाल उनी काठमाडौं विश्वविद्यालयमा विद्यावारिधि (पीएचडी) अध्ययनरत छन्। उनको शोध विषय काठमाडौंका नेवार संरचनाको संरक्षणमार्फत पर्यटन तथा अर्थतन्त्र प्रवर्द्धनसँग सम्बन्धित छ। उनले भारतको विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयबाट एम.टेक (संरचनात्मक इन्जिनियरिङ) र नेपालको पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका हुन्।



कागजपत्र |
