
इरानको अनुमति: मलेसियाली जहाजलाई स्ट्रेट अफ हर्मुज पार गर्न हरियो झण्डा
क्वालालम्पुर – इरानले मलेसियाली जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न अनुमति दिएको मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बताएका छन्। बिहीबार टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै उनले इरानका राष्ट्रपति मसुद पेजेश्कियनप्रति आभार व्यक्त गर्दै मलेसियाली जहाजहरूलाई छिटो अनुमति प्रदान गरिएको जानकारी दिए।
प्रधानमन्त्री अनवरले मलेसियाली तेल ट्याङ्करहरू तथा ती जहाजमा कार्यरत कामदारहरूलाई सुरक्षित रूपमा मुक्त गराई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको बताए। तर, कति जहाजले उक्त जलडमरू पार गरिसकेका छन् वा कस्तो सर्तमा अनुमति दिइएको हो भन्नेबारे उनले विस्तृत विवरण भने सार्वजनिक गरेनन्।
सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने स्ट्रेट अफ हर्मुज हाल इरान–अमेरिका–इजरायलबीचको बढ्दो तनावका कारण प्रभावित बनेको छ।
परम्परागत रूपमा असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको मलेसियाले ऊर्जा आपूर्ति अवरोधको असर भने भोगिरहेको प्रधानमन्त्री अनवरले स्वीकार गरेका छन्। उनले पेट्रोनासजस्तो सरकारी ऊर्जा कम्पनीको क्षमता बलियो भएकाले मलेसिया अन्य देशको तुलनामा तुलनात्मक रूपमा राम्रो अवस्थामा रहेको दाबी गरे।
मलेसिया विश्वका प्रमुख एलएनजी आपूर्तिकर्तामध्ये एक भए पनि झन्डै ७० प्रतिशत कच्चा तेल भने खाडी क्षेत्रबाट आयात गर्दै आएको छ। सम्भावित ऊर्जा सङ्कटको सामना गर्न सरकारले इन्धन बचतका विभिन्न उपाय अघि सारेको छ।
ती उपायअन्तर्गत सहुलियत दरमा पाइने पेट्रोलको मासिक कोटा घटाउने तथा सरकारी कर्मचारीलाई क्रमशः छनोटका आधारमा घरबाटै काम गर्ने व्यवस्था लागू गर्ने योजना समावेश गरिएको छ।



कागजपत्र |
