चैत्र दसैंको नवरात्र सुरू, आज घटस्थापना


काठमाडौं – चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु भएको छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।

चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए । उनले आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको बताए ।

यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ ।

शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् । आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र चैत्र शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो । नेपाली परम्परामा आषाढ र पौष शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ ।

प्रतिक्रिया