सडक आश्रितमुक्त काठमाडौं बनाउने तयारी


काठमाडौं– काठमाडौं महानगरपालिकाले पछिल्लो करिब आठ वर्षमा २ हजार ९१९ जना सडक आश्रित व्यक्तिको उद्धार गरेको छ।

महानगरले २०७४ मंसिर १ गतेदेखि मानव सेवा आश्रम सँग सहकार्य गरी सडक आश्रित मानव व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आएको हो।

आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार गरिएकामध्ये ३१५ जनाको मृत्यु भइसकेको छ भने ७१३ जनालाई पारिवारिक पुनर्मिलन र ३३६ जनालाई सामुदायिक पुनर्मिलन गराइएको छ। हाल २६८ जना आश्रमको संरक्षणमा रहेका छन्।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंलाई सहयोगापेक्षी सडक आश्रितमुक्त क्षेत्र घोषणा गर्ने तयारीस्वरूप यो अभियान अघि बढाइएको बताइन्। “घोषणा मात्र नभई यसलाई दिगो बनाउने कानुनी, प्रशासनिक र व्यावहारिक पक्षलाई पनि सुदृढ बनाउँदैछौं,” उनले भनिन्।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार सडकमा रहेका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार कार्य अझै जारी छ।

महानगरले आश्रमलाई हालसम्म २ करोड ८४ लाख ७३ हजार २३७ रुपैयाँ सहयोग उपलब्ध गराइसकेको छ भने उद्धारका लागि आवश्यक सवारीसाधनसमेत प्रदान गरेको छ।

आश्रमले सहयोगापेक्षी व्यक्तिको पहिचान, सिफारिस र व्यवस्थापनमा समन्वय गर्दै आएको छ। यस कार्यमा जनप्रतिनिधि, प्रशासनिक कर्मचारी तथा महानगर प्रहरीको सक्रिय सहभागिता रहेको छ।

अध्यक्ष अधिकारीका अनुसार काठमाडौंमा उद्धार गरिएका व्यक्तिहरूलाई विभिन्न शाखामार्फत व्यवस्थापन गरिएको छ। रानीवन शाखामा २५० भन्दा बढी, सामाखुसीमा ५० भन्दा बढी तथा अन्य प्रस्तावित शाखाहरू चुनदेवी, धुनीबेँसी र गजुरीमा पनि प्रत्येकमा ५० भन्दा बढीलाई व्यवस्थापन गर्ने क्षमता रहेको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सडक बालबालिका, अनाथ, असहाय, अशक्त तथा मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनःस्थापना केन्द्र सञ्चालन, व्यवस्थापन र नियमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ।

कार्यक्रमको दिगोपनाका लागि नीतिगत तथा संस्थागत व्यवस्था, वैज्ञानिक अभिलेखन प्रणाली, स्वास्थ्य तथा मानसिक परामर्श सेवा, साथै पुनःस्थापना र पुनर्मिलनका प्रभावकारी संयन्त्र आवश्यक रहेको पनि अधिकारीले बताए।

प्रतिक्रिया