ग्यासको अवैध कारोबार भइरहेको सूचना दिन विभागको अनुरोध


काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई बहाना बनाएर खाना पकाउने एलपी ग्यासमा भइरहेको अवैध कारोबारबारे कुनै सूचना भए तत्काल निःशुल्क हटलाइन ११३७ मा फोन गरी जानकारी दिन आम सर्वसाधारणलाई आग्रह गरेको छ।

पछिल्ला दिनमा ग्यासको कालोबजारी बढेको, ठूलो परिमाणमा भण्डारण गरेर कृत्रिम अभाव सिर्जना गरिएको तथा चर्को मूल्यमा बिक्री भइरहेको गुनासो बढेपछि विभागले यस्तो अपिल गरेको हो। विभागका अनुसार उपभोक्ताले सहज रूपमा सूचना दिन सकून् भन्ने उद्देश्यले देशभरबाट निःशुल्क रूपमा सम्पर्क गर्न मिल्ने व्यवस्था गरिएको छ।

नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै बिक्री गर्ने व्यवस्था मिलाएको भए पनि बजारमा ग्यासको अभाव भने अझै कायम रहेको छ। यस्तो अवस्थामा अनुचित व्यापारिक गतिविधि गर्ने जो–कोहीलाई कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

विभागले देशभर निरन्तर स्थलगत अनुगमन तथा निरीक्षण तीव्र बनाएको छ। अनुगमनका क्रममा कैफियत भेटिएमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार तुरुन्तै कारबाही भइरहेको विभागले जनाएको छ।

ग्यासको उच्च माग रहेको अहिलेको संवेदनशील अवस्थामा आपूर्ति प्रणालीलाई सहज बनाउन र कृत्रिम अभाव तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न विभाग सक्रिय रूपमा लागिरहेको छ। साथै, सबै ग्यास उत्पादक र वितरकलाई कानुनअनुसार पारदर्शी रूपमा व्यवसाय सञ्चालन गर्न र कुनै पनि गैरकानुनी कार्य नगर्न सचेत गराइएको छ।

सोमबार मात्रै विभागले ग्यास लुकाएर राखेको पाइएपछि श्रीराम ग्यास उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। ललितपुरको हरिसिद्धि स्थित गोदाममा लुकाइएका १४ दशमलव २ किलोग्राम तौलका ६ हजार ३७७ सिलिण्डर फेला परेपछि कारबाही गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया