कालो पट्टी बाँधेर जेनजी अलायन्सको प्रदर्शन, सरकारको कदमप्रति आपत्ति


काठमाडौं-  जेनजी मुभमेन्ट अलायन्सले  जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ।

सोही मागसहित अलायन्सले सोमबार माइतीघर मण्डला मा मौन विरोध प्रदर्शन गरेको हो। आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले बिहान ११ बजेदेखि प्रदर्शनकारीहरूले आँखामा कालो पट्टी बाँधेर विरोध जनाएका थिए।

अलायन्सले गुप्त रूपमा राखिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने अडान राखेको छ।

यससँगै मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्ति पनि तत्काल खारेज गर्नुपर्ने माग अघि सारिएको छ।

सरकारको उक्त कदमप्रति आपत्ति जनाउँदै अलायन्सले जारी गरेको विज्ञप्तिमा सरकारमाथि अपारदर्शी र कृपावादी ढङ्गले आफ्ना निकट व्यक्तिहरूलाई नियुक्ति दिएको आरोप लगाएको छ।

 

 

प्रतिक्रिया