सुर्खेतमा दुई बालबालिकासहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो सामान


सुर्खेत-  सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेबाट दुई बालबालिकासहित एक महिला सम्पर्कविहीन भएपछि प्रहरीले स्थानीयको सहयोगमा व्यापक खोजी अभियान सुरु गरेको छ।

प्रहरीका अनुसार गुर्भाकोट–१२ पिप्ले बस्ने ३८ वर्षीया माया कठायत आफ्नी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षीय छोरा दिपक कठायतसहित आइतबार बिहानदेखि घरबाट सम्पर्कविहीन भएकी हुन्।

उनीहरू हराएको जानकारी उनका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायतले आइतबार साँझ प्रहरी चौकी गुमी मा दिएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरीले स्थानीयवासीको सहकार्यमा खोजी अभियान सुरु गरेको थियो।

सोमबार बिहानदेखि भेरी नदी किनार आसपासका क्षेत्रमा खोजी कार्य थप तीव्र बनाइएको प्रहरीले जनाएको छ। वडाध्यक्षसहित स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले नदी किनार र आसपासका क्षेत्रमा खोजतलास गरिरहेको छ।

खोजीका क्रममा उनीहरूको घरदेखि करिब तीन किलोमिटर टाढा भेरी नदीको किनारमा माया कठायतले प्रयोग गर्ने झोला, सल, चप्पल तथा एक थान मोबाइल फोन फेला परेको प्रहरीले जानकारी दिएको छ। तर, हालसम्म माया कठायत र उनका दुई सन्तानको अवस्था पत्ता लाग्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय सुर्खेत का प्रवक्ता मोहनजंग बुढथापाका अनुसार इलाका प्रहरी कार्यालय तथा मातहतका प्रहरी चौकीहरूबाट खटिएका करिब ३५ जना प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले नदी आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको छ।

प्रतिक्रिया