काठमाडौं उपत्यकामा वायु प्रदूषण अझै केही दिन कायम रहने


काठमाडौं- काठमाडौं उपत्यकामा वायु प्रदूषणको अवस्था अझै केही दिन कायम रहने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्काल उपत्यकामा ठूलो वर्षा हुने अवस्था नरहेकाले वायुमण्डलमा भएको प्रदूषण केही दिन अझै कायम रहने देखिएको छ।

विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले आगामी तीन दिनसम्म हालको अवस्था जारी रहने र त्यसपछि क्रमशः मौसम सुधार हुने जानकारी दिइन्। उनले आगामी दिन देशभर मौसम परिवर्तन हुने अपेक्षा गरिएको पनि उल्लेख गरिन्।

कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौं उपत्यकासहित देशका केही शहरमा वायु प्रदूषणको स्तर अत्यधिक बढेसँगै स्वास्थ्य मन्त्रालयले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरिसकेको छ।

प्रतिक्रिया