
काठमाडाैंमा वायु प्रदूषण बढ्यो, स्वास्थ्य सतर्कता अपनाउन आग्रह
काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता वायु प्रदूषण बढ्दै गएको छ। लामो समयदेखि वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिँदै जाँदा प्रदूषणको मात्रा पनि बढ्न थालेको हो।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु र हावाको बहाव कमजोर हुनुका कारण उपत्यकाको आकाश धुम्मिएको छ, जसले प्रदूषण बढ्न मद्दत गरेको छ।
“लामो समयदेखि वर्षा भएको छैन र हावा पनि चलेको छैन, त्यसैले केही दिनयता मौसम धुम्मिएको छ,” उनले भने, “गत वर्षको तुलनामा भने यस वर्ष प्रदूषण केही कम छ। वन डढेलो नलागेसम्म अत्यधिक प्रदूषण हुने सम्भावना छैन।”
*एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार आइतबार मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १८६ पुगेको छ। यससँगै काठमाडौं विश्वका चौथो सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको वातावरणविद् भूषण तुलाधारले जानकारी दिए।
एक्यूआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ। १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ।
त्यसैगरी १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिने भएकाले नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।



कागजपत्र |
