
२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं- निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ढुक्क र निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन्।
निर्वाचन आयोग मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयुक्त भण्डारीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे।
गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि सिर्जित विषम परिस्थितिका बीच हुन लागेको आकस्मिक प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ ले नेपालको संविधान तथा संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास उनले व्यक्त गरे।
आयुक्त भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे। निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिने दृढता व्यक्त गर्दै उनले आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित निर्वाचन वातावरण सुनिश्चित गरिने बताए।
मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्ति भएको उल्लेख गर्दै उनले सुसूचित मतदानले शासनप्रतिको नागरिक अपनत्व अझ बलियो बनाउने बताए।
“निर्वाचनमा मतदाता र मतदान नै सर्वाधिक महत्वपूर्ण हुन्छ,” आयुक्त भण्डारीले भने, “फागुन २१ गते बिहीबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्नुहुन म सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछु।”
पत्रकार सम्मेलनमै बोल्दै उनले मतगणना प्रक्रिया पनि यथासक्य छिटो सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिए। “प्रत्यक्षतर्फ मतगणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिसक्नेछौँ,” उनले बताए।
उनका अनुसार प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणनासमेत सँगसँगै अघि बढाइनेछ। समानुपातिकतर्फको मतपरिणाम पनि विगतका निर्वाचनभन्दा ठूलो हुने अनुमान उनले व्यक्त गरे।



कागजपत्र |
