
दाङको चिसापानीमा बस दुर्घटना, ९ जना घाइते
दाङ – दाङको चिसापानीमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। सोमबार लमहीबाट घोराहीतर्फ जाँदै गरेको लु २ ख ३२७७ नम्बरको बस घोराही उपमहानगरपालिका–३ स्थित चिसापानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। त्यस्तै, २ जना घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि बस चालक दाङको राप्ती गाउँपालिका–५, सिहनियाका ३५ वर्षीय केशरबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि केही समयका लागि अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आइसकेको जिल्ला प्रहरीले जानकारी दिएको छ।



कागजपत्र |
