धादिङ बस दुर्घटना अपडेट: मृत्यु भएका १९ मध्ये ९ जनाको सनाखत


काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ। बाँकी १० जनाको भने पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस सोमबार बिहान अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा परी मृत्यु भएका ९ जनामध्ये एक जना विदेशी नागरिकसमेत रहेका छन्। ज्यान गुमाउनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान, कास्कीको पोखरा महानगरपालिका–३० का करिब ४० वर्षीय विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई हाल काठमाडौंको नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन्।

त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–७ की ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंको बौद्ध टुसालका ४२ वर्षीय लोपसाङ गोले, तनहुँको भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिन्देल तथा पाल्पाको तानसेन नगरपालिका–२ का ५५ वर्षीय नविन श्रेष्ठको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ।

सनाखत हुन बाँकी १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन्। तीमध्ये एक पुरुषको भने काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार बसमा चालकसहित २९ जना पुरुष र १५ जना महिला गरी जम्मा ४४ जना यात्रु सवार थिए। राति करिब १:३० बजेतिर भएको दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोली र स्थानीयको सहयोगमा तत्काल उद्धार कार्य सुरु गरिएको थियो।

दुर्घटनामा घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलबाट उद्धार गरिएका घाइतेलाई प्रारम्भिक उपचारका लागि मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल मलेखु र जिल्ला अस्पताल धादिङबेंसी पठाइएको थियो।

त्यसपछि गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। हाल १४ जनाको राष्ट्रिय ट्रमा सेन्टर, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेज र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे सूक्ष्म रूपमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

प्रतिक्रिया