
दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सोमबार उक्त रिटमाथि सुनुवाइ हुने भएको हो।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। साथै उनलाई पक्राउ गर्नुको कारण लिखित रूपमा पेस गर्न सम्बन्धित निकायलाई आदेश जारी गरिएको थियो।
दुर्गा प्रसाईंको तर्फबाट उनकी पत्नी उमा प्रसाईंले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन्।
यसअघि पनि प्रसाईं माघ २३ गते पक्राउ परेका थिए। तर, हाजिर जमानीमा छुटेका उनी त्यसबेला निर्वाचनसम्बन्धी दिएका अभिव्यक्तिलाई आधार मानेर प्रहरीले अनुसन्धानका क्रममा बयान लिएपछि रिहा गरेको थियो।
प्रहरीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन विथोल्ने अभियान सुरु गर्न सक्ने आशंकामा प्रसाईंलाई पटक–पटक पक्राउ गर्दै आएको छ। यसअघि माघ ५ गते पोखराबाट पक्राउ परेका प्रसाईंसँग पनि प्रहरीले बयान लिएर छाडेको थियो।
प्रसाईंमाथि निर्वाचन प्रभावित पार्ने गतिविधिमा संलग्न हुन सक्ने आशंका गर्दै सुरक्षा निकायले निगरानी बढाउँदै आएको जनाइएको छ।



कागजपत्र |
