
पोखरा जाँदै प्रधानमन्त्री कार्की
पोखरा – पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोह आज (शुक्रबार) हुँदैछ । समारोहमा दीक्षित हुने विद्यार्थीको सङ्ख्या छ हजार छ सय २२ जना छ ।
विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्की समारोहमा सरिक हुन पोखरा जाँने भएकी छन् ।
शुक्रबार ११ बजे सुरु हुने दीक्षान्त समारोहमा लैङ्गिक समानता, महिला अधिकार तथा नीति निर्माणका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी चाँदनी जोशी प्रमुख अतिथि छन् । करिब छ दशक लामो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अनुभवी उनले दक्षिण एशियामा लैङ्गिक समानता र महिला सशक्तीकरणको एजेन्डालाई संस्थागत र प्रभावकारी रूपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।
पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम वि.सं. २०५४ सालमा स्थापना भएको यस विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धन प्राप्त महाविद्यालयहरूमा स्नातक तहका ३४ वटा, स्नातकोत्तर तहका ३३ वटा, एमफिल तहका दुई वटा तथा विद्यावारिधि तहका पाँच वटा गरी ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।



कागजपत्र |
