टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस मनाइयो


काठमाडौं-  नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस–२०८२ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रधानमन्त्री सुशिला कार्की लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा मार्चपास्ट, नेपाली सेनाका हातहतियार तथा उपकरणहरूको प्रदर्शन, साथै विविध सैनिक कला र सांगीतिक झाँकी प्रस्तुत गरिएको थियो। साथै मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरूले पनि विशेष प्रस्तुति दिएका थिए।

नेपाली सेनाले प्रत्येक वर्ष महाशिवरात्रिको अवसरमा आफ्नो स्थापना दिवस मनाउँदै आएको छ।

इतिहास अनुसार राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा वि.सं. १८१९ मा नेपाली सेनाको गठन गरेका थिए। त्यस वर्ष नेपाली सेनाका श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख कम्पनी स्थापना गरिएको थियो।

नेपाल राज्यका पुराना संस्थाहरूमध्ये नेपाली सेना पनि एक महत्वपूर्ण संस्था हो।

 

प्रतिक्रिया