महाशिवरात्रिमा पशुपति क्षेत्रमा विशेष ट्राफिक व्यवस्था, ६ स्थानमा पार्किङ सुविधा


काठमाडौं – पशुपतिनाथको मुख्य पर्व महाशिवरात्रि नजिकिँदै गर्दा पाशुपत क्षेत्र दुलहीझैँ सिँगारिएको छ। आइतबार पर्ने शिवरात्रिको स्वागतका लागि मन्दिर परिसरमा रङरोगन, सरसफाइ तथा बिजुली बत्तीको सजावटसहित सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

पर्वलाई लक्षित गर्दै छिमेकी मुलुक भारतसहित देशका विभिन्न स्थानबाट साधु–सन्त तथा नागा बाबाहरूको बाक्लो आगमन भइसकेको छ। भक्तजनको चाप बढ्ने अनुमानका कारण सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसैबीच, दर्शनार्थीलाई सहजता दिन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष यातायात व्यवस्थापन योजना सार्वजनिक गरेको छ। ट्राफिक प्रहरीका अनुसार भक्तजनको भीड अत्यधिक नबढेसम्म चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी साधन सामान्य रूपमा चल्नेछन्। तर, गौशाला क्षेत्रमा भीड अत्यधिक भएर सवारी आवागमन अवरुद्ध हुने अवस्था आएमा वैकल्पिक मार्ग (डाइभर्सन) लागू गरिनेछ।

विशेषगरी तिनकुने–सिनामङ्गल, बौद्ध–गौरीघाट, तथा पुरानो बानेश्वर/मित्रपार्क–गौशाला हुँदै आउने मालबाहक सवारी साधनलाई आवश्यकताअनुसार रोक लगाइने ट्राफिक प्रहरीले जनाएको छ। साथै भीडको अवस्थाअनुसार चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर र मैतिदेवी मोडबाट गौशालातर्फ आउने सवारी साधनलाई वैकल्पिक रुटमा मोडिने योजना छ।

पार्किङका लागि ६ स्थान तोकियो

महाशिवरात्रिको दिन दर्शनार्थी तथा पर्यटकको सहजताका लागि ट्राफिक प्रहरीले ६ स्थानमा पार्किङको व्यवस्था मिलाएको छ:

१.सिफल चौर – दर्शनार्थी, पासवाहक र सुरक्षाकर्मीका सवारीका लागि

२.गुहेश्वरी पारि – तीर्थयात्री र दर्शनार्थीका सवारीका लागि

३.तिलगंगा आँखा अस्पताल र करिडोर – दर्शनार्थी, पर्यटक र तीर्थयात्रीका सवारीका लागि

४.पशुपति विकास कोष कार्यालय (भण्डारखाल) – पासवाहक गाडीहरूका लागि

५.वनकाली क्षेत्र – शिविर सञ्चालन गर्ने संस्था, दमकल, एम्बुलेन्स र खानेपानीका साधनका लागि

६.प्रहरी वृत्त गौशाला परिसर – सरकारी तथा पासवाहक सवारीका लागि

ट्राफिक प्रहरीले महाशिवरात्रिको दिन पशुपति क्षेत्र हुँदै यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न, साथै ट्राफिक नियमको पूर्ण पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

प्रतिक्रिया