
विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये काठमाडौं आठौँ स्थानमा
काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदूषण बुधबार पनि अस्वस्थ तहमा पुगेको छ।
एयर क्वालिटी इन्डेक्स अनुसार बुधबार मध्यान्हसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १९२ एक्युआई मापन गरिएको वातावरण विभागले जनाएको छ। आइतबार उपत्यकाको वायु गुणस्तर १७५ एक्युआईमा सीमित रहे पनि मंगलबार बढेर १९२ पुगेको थियो। बुधबार पनि प्रदूषणको स्तर घट्न नसकेको विभागको भनाइ छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयदेखि वर्षा नहुनु र हावा नचल्दा वायुमण्डलमा प्रदूषक तत्व थुप्रिँदै गएका छन्।
उनका अनुसार उद्योग–कलकारखानाको सञ्चालन, तीव्र गतिमा भइरहेका विकास निर्माणका गतिविधि तथा सीमापार (क्रस–बोर्डर) बाट भित्रिने प्रदूषणले पनि हावाको गुणस्तरमा नकारात्मक असर पारेको छ। वर्षा नभएसम्म प्रदूषणको मात्रा अझै बढ्न सक्ने चेतावनी दिँदै उनले दिगो र वातावरणमैत्री विकासका उपाय अवलम्बन गर्न सम्बन्धित निकायलाई सुझाव दिएका छन्।
बुधबार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये आठौँ स्थानमा सूचीकृत भएको छ। सो दिन विश्वकै सबैभन्दा प्रदूषित शहरका रूपमा भारतको नयाँदिल्ली पहिलो स्थानमा रहेको छ, जहाँ वायु प्रदूषण २४७ एक्युआई मापन गरिएको छ।
विपद् व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सचेत रहनुपर्ने (पहेंलो), १०१ देखि १५० अस्वस्थ, १५१ देखि २०० सबैका लागि अस्वस्थ, २०१ देखि ३०० धेरै अस्वस्थ र ३०० भन्दा माथिको अवस्था अत्यन्तै खतरनाक मानिन्छ।



कागजपत्र |
