संसद् विघटनविरुद्धको रिटमा सर्वोच्चले फागुन ८ गते साधारण तारेख तोक्यो


काठमाडौं-  सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा फागुन ८ गते साधारण तारेख तोकेको छ।

यसअघि सर्वोच्च अदालत प्रशासनले आजका लागि साधारण तारेख तोकेकाले मुद्दा पेशी चढ्ने अनुमान गरिएको थियो। तर सर्वोच्च अदालतको मुद्दा शाखाले आज पेशी नचढाई पुनः फागुन ८ गतेका लागि साधारण तारेख तोकेको हो।

यसअघि सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी रिटहरूमा प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी पक्षसँग लिखित जवाफ माग गरिसकेको छ। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जनभन्दा बढी रिट निवेदन दर्ता भएका छन्।

अदालतले ती सबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश जारी गरिसकेको छ। सो आदेशअनुसार संसद् विघटनसम्बन्धी सबै रिटको सुनुवाइ एउटै इजलासबाट हुने व्यवस्था गरिएको छ।

सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाको माग गर्दै १७ वटा रिट निवेदन दर्ता छन्। ती रिटमा संसद् विघटनको निर्णय संविधानविपरीत भएको दाबी गरिएको छ। संसद् विघटनविरुद्ध नेकपा एमाले, नेपाली कांग्रेस तथा कानुन व्यवसायीहरूले रिट दायर गरेका हुन्।

प्रतिक्रिया