
ग्यास अभावको गुनासो बढेपछि निगमद्वारा टेकुबाटै एलपीजी बिक्री सुरु
काठमाडौं- बजारमा खाना पकाउने ग्यास (एलपीजी) को अभाव भएको गुनासो तीव्र बन्दै गएपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि आफ्नै कार्यालयबाट ग्यास बिक्री वितरण सुरु गरेको छ ।
डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूको गुनासो बढेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमै विशेष काउन्टर स्थापना गरी ग्यास वितरण थालेको हो ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विशेष गरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाटै ग्यास लिन सक्ने व्यवस्था मिलाइएको छ ।
प्रवक्ता ठाकुरले नेपाल ग्यासको वितरण सुरु भइसकेको जानकारी दिँदै एभरेस्ट ग्यास र सुगम ग्यासका काउन्टर पनि तत्काल सञ्चालनमा आउने बताए । उनले भने, “जसलाई ग्यास अत्यावश्यक छ र आफ्ना डिलरबाट पाउनुभएको छैन, उहाँहरूले खाली सिलिन्डर लिएर टेकु कार्यालयमा आउनुहोस्, सहज रूपमा ग्यास उपलब्ध गराइनेछ ।”
बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको हल्ला चलिरहँदा प्रवक्ता ठाकुरले भने आयात र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेका छन् । भन्सारको तथ्याङ्क अनुसार माग बमोजिम नै ग्यास आयात भइरहेको उनको भनाइ छ । उनका अनुसार नेपालमा मासिक करिब ३० लाख सिलिन्डर ग्यास खपत हुने गर्छ ।
एउटा मात्र सिलिन्डर प्रयोग गर्ने सर्वसाधारण बढी मर्कामा परेको र ग्यास नपाएर हैरान हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै निगमले आकस्मिक बिक्री कक्ष सञ्चालनमा ल्याएको जनाएको छ ।
ग्यास नपाएका सर्वसाधारणले खाली सिलिन्डरसहित नेपाल आयल निगमको टेकुस्थित कार्यालय परिसरमा सम्पर्क गर्न सक्ने निगमले आग्रह गरेको छ ।



कागजपत्र |
