
मध्यराति चुनीखेलकाे नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
काठमाडौं- काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ। मंगलबार राति करिब पौने ११ बजेतिर सुरु भएको आगलागीमा फसेका ७ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ।
आगो नियन्त्रणका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका तथा टोखा नगरपालिकाबाट खटिएका दमकलले सवा १ बजेतिर आगो पूर्ण रूपमा निभाएका थिए।
वडा अध्यक्ष टिकानारायण श्रेष्ठका अनुसार आगलागीबाट २४ कोठा बराबरको लामो टहरा पूर्ण रूपमा नष्ट भएको छ। उक्त टहरामा विभिन्न जिल्लाबाट आएर कोठा भाडामा लिई बसोबास गर्दै आएका २४ परिवार बस्दै आएका थिए। आगलागीपछि सबै परिवार विस्थापित भएका छन्।
‘त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरू कोठा भाडामा लिएर बस्नु भएको थियो। २४ परिवार थिए र सबै विस्थापित हुनुभएको छ,’ वडा अध्यक्ष श्रेष्ठले बताए।
विस्थापित परिवारहरूलाई नजिकैका अन्य टहरामा अस्थायी रूपमा राखिएको छ। उनीहरूका लागि आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको वडाले जनाएको छ।
आगलागीको कारण विद्युत सट हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आइसकेको छैन।
आज प्रहरीसहित मुचुल्का उठाइने र क्षतिको यकिन विवरण संकलन गरिने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए।



कागजपत्र |
