२ गिनिज वर्ल्ड रेकर्डधारी मिङ्मा चुनावी मैदानमा


संखुवासभा – विश्वका सबै १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गरेर इतिहास रचेका मिङ्मा शेर्पा अब राष्ट्र निर्माणको अभियानमा होमिएका छन्।

संखुवासभा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष प्रतिनिधि सभा सदस्यका लागि रास्वपाबाट उम्मेदवारी दिएका शेर्पाले ‘काम गरेर देखाउने राजनीति’को संकल्पसहित जनताको बीचमा पुगेका छन्।

अनुशासन, साहस र नेतृत्व क्षमताका प्रतीक मिङ्मा शेर्पा हिमालमा जस्तै राजनीतिमा पनि परिणाममुखी सोच लिएर अगाडि बढिरहेका छन्। संखुवासभाका जनताको आवाज संसदमा बलियोसँग उठाउने र विकास, रोजगारी तथा सुशासनलाई प्राथमिकतामा राख्ने उनको स्पष्ट प्रतिबद्धता छ।

मकालु गाउँपालिका–१, वालुङमा जन्मिएका शेर्पा साधारण गाउँबाट विश्वको सर्वोच्च शिखरसम्म पुगेका व्यक्तित्व हुन्। नेपालको सबैभन्दा ठूलो ट्रेकिङ तथा आरोहण कम्पनी सेभेन समिट ट्रेक्स प्रा.लि. का अध्यक्षका रूपमा उनले हजारौँ नेपालीलाई रोजगारी दिँदै पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रमा ठोस योगदान पुर्‍याएका छन्।

पुरानो राजनीति, खोक्रा भाषण र सत्ता केन्द्रित सोचभन्दा अलग, मिङ्मा शेर्पा नयाँ पुस्ताको आशा र भरोसाको प्रतिनिधि बनेका छन्। इमानदार राजनीति, जवाफदेही नेतृत्व र काम गर्ने संस्कार नै मिङ्मा शेर्पाको पहिचान भएको उनी बताउँछन्।

‘हिमालले मलाई धैर्य, संघर्ष र जिम्मेवारी सिकायो, अब त्यही अनुभव देश र जनताको सेवामा लगाउँछु,’ भन्ने अठोटका साथ उनी चुनावी मैदानमा उत्रिएका छन्।

हिमाल जित्ने साहस भएको व्यक्ति संखुवासभाको भविष्य बदल्न सक्षम हुने विश्वासका साथ मतदाताहरूको साथ र समर्थन जुटाउँदै मिङ्मा शेर्पा संसद यात्रातर्फ अग्रसर छन्।

प्रतिक्रिया