नक्कली अधिकृत बनेर ठगी प्रयास


काठमाडौं-  गृह मन्त्रालयको शाखा अधिकृत भएको नक्कली परिचय दिँदै अन्य व्यक्तिको व्यक्तिगत विवरण लिन खोज्ने एक व्यक्तिलाई अध्यागमन विभागले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाएको छ।

नियन्त्रणमा पर्ने व्यक्ति तनहुँका कृष जिसी रहेको अध्यागमन विभागले जनाएको छ। उनले गृह मन्त्रालयको शाखा अधिकृत हुँ भन्दै नक्कली कर्मचारी परिचयपत्र देखाएर विभागमा पहुँच बनाउन खोजेका थिए। शुक्रबार पनि उनी निजामती कर्मचारीको पोशाकमा विभाग पुगेका थिए।

परिचय दिँदा जिसीले आफू ‘ब्याच ३७’ का शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत रहेको दाबी गरेका थिए। तर अध्यागमन विभागको इन्टेलिजेन्स तथा प्रशासन शाखाले उनका गतिविधि शंकास्पद देखेपछि थप सोधपुछ गरेको थियो।

प्रारम्भिक अनुसन्धानमा जिसीले विगत सात महिनादेखि गृह मन्त्रालयको नक्कली परिचय प्रयोग गर्दै काठमाडौंको एक प्रतिष्ठित होटलसँग सम्पर्क बढाएको खुलेको छ। सो होटलमा ठगी गरेर फरार भएकी एक महिलाबाट पैसा असुली गरिदिन होटलका बाउन्सरले उनलाई सहयोग मागेको खुलेको छ।

त्यही क्रममा जिसी होटलका बाउन्सरसहित अध्यागमन विभाग पुगेका थिए। उनले ठगीमा संलग्न महिलाको वैदेशिक भ्रमण रोक्का गरिदिने र अध्यागमनको कालोसूचीमा राखिदिने प्रलोभन देखाउँदै उक्त महिलाको राहदानी र नागरिकताको प्रतिलिपि माग गरेका थिए। साथै, महिलालाई कालोसूचीमा राख्न अनुरोधसमेत गरेका थिए।

विभागमा प्रस्तुत गरिएको परिचयपत्रमा उल्लेख गरिएको कर्मचारी संकेत नम्बर अस्वाभाविक देखिएपछि अध्यागमन विभागले उनलाई नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा उनले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको नक्कली परिचयपत्र समेत प्रयोग गरेको खुलेको छ।

अध्यागमन विभागले जिसीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाएको जनाएको छ। उनीसँग आएका होटलका बाउन्सरलाई भने सामान्य सोधपुछपछि छाडिएको विभागले जानकारी दिएको छ।

प्रतिक्रिया