आगामी वैशाखमा कांग्रेसको नियमित महाधिवेशन गर्न सकिँदैन : महामन्त्री घिमिरे


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन्। बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र त्यसपछि विकसित हुने राजनीतिक गतिविधिका कारण वैशाखमा महाधिवेशन गर्न सम्भव नहुने बताएका हुन्।

उनका अनुसार कांग्रेसले २०८३ साल पुस मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाउनेछ। विशेष महाधिवेशनपछि पार्टी एकजुट भएर निर्वाचनमा होमिएको दाबी गर्दै घिमिरेले दुरगामी सोचसहितको घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए।

महामन्त्री घिमिरेले आगामी संसदीय दलले सर्वसम्मत रूपमा सभापति गगन थापालाई संसदीय दलको नेता चयन गर्ने र उनी भावी प्रधानमन्त्री बन्ने दाबी पनि गरे।

त्यसैगरी, उनले राष्ट्रियसभा निर्वाचनका लागि पहिल्यै गठबन्धन भइसकेकाले त्यसले निरन्तरता पाउने बताए। तर फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भने कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारे। निर्वाचनपछिको परिणामका आधारमा भने नयाँ गठबन्धन बन्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

प्रतिक्रिया