पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : तत्कालीन निर्देशक भण्डारी साधारण तारेखमा रिहा


काठमाडौं-  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोग लागेका नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्दप्रसाद भण्डारीलाई विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार भण्डारीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ गते भण्डारीविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा आयोगले तत्कालीन निर्देशक भण्डारीसहित कुल ५५ जनालाई विपक्षी बनाएर अभियोग दर्ता गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा अनियमितता र आर्थिक क्षति भएको दाबी आयोगको छ ।

मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा विशेष अदालतले भण्डारीलाई साधारण तारेखमा उपस्थित हुने गरी थुनामुक्त गर्ने आदेश दिएको हो ।

प्रतिक्रिया