स्थानीय युवाद्वारा परशुरामधामको सरसफाइ


डडेल्धुरा – परशुराम नगरपालिका–५ मा आयोजित परशुराम मेलाका क्रममा भक्तजनबाट सिर्जित फोहोर संकलन गरी मन्दिर परिसर तथा धाम क्षेत्र सरसफाइ गरिएको छ। स्थानीय अधिकार परियोजना अन्तर्गत गठन गरिएको परशुराम–५ का युवाहरूको समूहले वातावरण स्वच्छ राख्ने र मन्दिर क्षेत्र सफा बनाउने उद्देश्यसहित सरसफाइ अभियान सञ्चालन गरेको हो।

एक्सनएड नेपालको आर्थिक सहयोगमा बहुउद्देश्यीय विकास समाज डडेल्धुराद्वारा सञ्चालित स्थानीय अधिकार कार्यक्रम–४८ अन्तर्गत उक्त सरसफाइ अभियान गरिएको परियोजना संयोजक धनबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार मेलापछि मन्दिर तथा आसपासका क्षेत्रमा जम्मा भएको फोहोर व्यवस्थापन गरी वातावरणीय स्वच्छता कायम गरिएको हो।

जिल्लाको परशुराम नगरपालिकाका ४ वटा वडामा एक्सनएड नेपालको सहयोगमा ग्रामीण बस्तीहरू छनोट गरी युवाहरूको नेतृत्वमा सामाजिक विकास र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। यस कार्यक्रममार्फत युवाहरूलाई सामाजिक अगुवा तथा वातावरणीय स्वच्छताका अभियन्ताका रूपमा अघि बढाइएको छ।

कार्यक्रमले विशेषगरी लक्षित तथा पछाडि पारिएका समुदायलाई स्थानीय सरकार तथा विभिन्न सरकारी निकायबाट प्राप्त हुने अधिकारबारे सचेत गराउँदै आएको छ। ‘आफ्नो समुदाय, आफ्नो वातावरण हाम्रो लागि’ भन्ने अवधारणालाई आत्मसात गर्दै युवाहरूलाई वातावरण स्वच्छता अभियानमा सक्रिय बनाइएको आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया