

बिमारी आमासँगको सेल्फी सामाजिक सञ्जालमा राख्दा प्रचण्डका छोरीहरूको आलोचना

काठमाडौं– लामो समयदेखि बिमारी रहेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको अवस्था नाजुक रहेको छ।
गत पुसमा भारतको मुम्बईमा उपचार गर्न लगे पनि उनको अवस्थामा खासै सुधार हुन सकेको छैन। सिंगापुर, अमेरिकालगायतका ठाउँमा उपचार गरिएकी सीताको अवस्थामा खासै सुधार नआएको बताइन्छ।
यसैबीच बिरामी रहेकी आमासँग उनका दुई छोरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र प्रचण्डकी स्वकीय सचिव रहेकी गंगा दाहालले सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दा आलोचनाको शिकार हुनु परेको छ।
सीताको अवस्था नाजुक देखिएको तस्बिरमा दुई छोरीले भने मुस्कान दिएको भन्दै आलोचना भएको हो।
‘कस्तो नखरा हो,प्रचण्डका छोरीहरुको? बिरामी आमाको यस्तो दयनिय अवस्थाको फोटो पोष्ट गरेर, के भन्न खोजेका हुन् कुन्नी’, ट्वीटरमा उक्त तस्बिर राख्दै ठाकुर केसी लेख्छन्,‘आमाको यस्तो अवस्था भए पनि हामी छोरीहरु चाही खुशी छौ,भन्न खोजेका हुन् कि हुन पनि हो, बिचरी आमा रोगले ग्रस्त देखिन्छिन् ! छोरीहरु भने खुशीले मुसुक्क मुस्कुराएका छन्। कठै!’
कतिपयले भने सीताको स्वास्थ्य लाभको कामना गरेका छन्। रेणुले ‘आमा’ भनेर राखेको उक्त तस्बिरमा उनको फेसबुक वालमा भने धेरैले सीताको अवस्था देखेर चिन्ता लागेको भन्दै स्वास्थ्य लाभको कामना गरेका छन्।

