
पेट्रोल ४ रुपैयाँ प्रतिलिटर घट्दा डिजेल कति घट्यो ?
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य घटाएको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा गरिएको समायोजनअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ५ रुपैयाँले सस्तो भएको हो।
निगमका अनुसार पेट्रोल प्रतिलिटर ४.१९ रुपैयाँ, डिजेल ५.०६ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ८.१५ रुपैयाँले घटेर आएपछि खुद्रा मूल्य घटाइएको हो। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ। पोखरा र भैरहवामा भने हवाई इन्धन ब्रेकइभन पोइन्टमा बिक्री हुने छ।
एलपी ग्यास प्रतिसिलिन्डर १००.३५ रुपैयाँले बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखेको जनाएको छ।
नयाँ मूल्य निगमको डिपो तथा कार्यालयदेखि १५ किलोमिटरसम्म लागू हुनेछ। मूल्य समायोजनले उपभोक्तालाई आंशिक राहत पुग्ने अपेक्षा गरिएको छ भने अन्तर्राष्ट्रिय बजारअनुसार आगामी दिनमा पुनः मूल्य समीक्षा गरिने निगमको भनाइ छ।



कागजपत्र |
