कोरोना संक्रमण भयावह बन्दै गएपछि दिल्लीमा कडा प्रतिबन्ध घोषणा


दिल्ली – पछिल्लो समय भारतमा कोरोना संक्रमणले भयावह रुप लिदै गएको छ । भारतमा दैनिक डेढ लाख भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिन थालेको तथ्याकंले देखाएको छ । कोरोना संक्रमणदर निकै बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा कडा प्रतिबन्ध घोषणा गरिएको छ।

दिल्ली सरकारले शनिबार बेलुकी संक्रमण रोकथामका लागि निकै कडा फैसला कार्यान्वयनमा ल्याएको भारतीय मिडियाहरूले जनाएका छन्।

स्थानीय प्रशासनले सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग जोडिएका सबै प्रकारका गतिविधि गर्न रोक लगाएको छ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदमा हिस्सा लिने खेलाडी बाहेक अरूलाई स्वीमिङ पूल प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। दिल्लीमा यतिखेर गर्मी निकै चढेको छ।

दिल्ली विपद् प्रबन्धन प्राधिकरणको आदेशानुसार अब विवाहमा ५० र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै मानिस सहभागी हुन पाउने छैनन्। रेस्टूराँ र बार सञ्चालकहरूले कूल क्षमताभन्दा ५० प्रतिशत कम ग्राहकलाई मात्र प्रत्यक्ष सेवा दिन पाउनेछन्।

दिल्लीका सबै कलेज र कोचिङ संस्थाहरू बन्द गराइएको छ। सार्वजनिक सवारीसाधनहरूमा ५० प्रतिशत सिटमा मात्रै यात्रु राख्न थालिएको छ।

कोरोनाबाट अतिप्रभावित महाराष्ट्रबाट दिल्ली आउने यात्रीहरूले आफू संक्रमित नरहेको प्रमाणस्वरूप आरडीटी–पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने नियम लगाइएको छ। रिपोर्ट बिना नै दिल्ली पुगे १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ।

प्रतिक्रिया