

नेपाली कांग्रेसले डाक्यो पदाधिकारी बैठक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारीको बैठक डाकेका छन्। सभापति देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक डाकेका हुन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सोमवार बस्ने केन्द्रीय समितिको एजेन्डा तय गरिने कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। भोलि सोमबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। पदाधिकारी बैठक १४ औं महाधिवेशनमा केन्द्रित रहने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘पदाधिकारी बैठक १४ औं महाधिवेशनबारे केन्द्रित हुनेछ,’ मुख्य सचिव पौडेलले भने।
यसअघि कांग्रेसले शुक्रवारको केन्द्रीय समिति रोकेर तीन दलको बैठक राखेको थियो। देउवा निवास बुढानिलकण्ठमा बसेको तीन दलको बैठकमा जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा सकारात्मक देखिएको थियो। यद्यपि यसबारे जसपाले कुनै निर्णय भने गरिसकेको छैन। बैठकमा नयाँ सरकार गठनका लागि काँग्रेसको अग्रसरताको विषयमा पनि छलफल हुने बताइएको छ।

