

यसरी राजनीतिक नेपथ्यमा पुगे विजयकुमार गच्छादार

काठमाडौं– नेपाली कांग्रेस, मधेसी जनाधिकार फोरम, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक हुँदै फेरि कांग्रेसको उच्च तहको पदमा रहे पनि विजयकुमार गच्छादार आजभोली राजनीतिक नेपथ्यमा छन्।
नेपालको संविधान जारी गर्ने क्रममा १६ बुँदे सहमतिका एक हस्ताक्षरकर्ता गच्छादार कसरी राजनीतिक निस्क्रियतामा पुगे?
नेपाली कांग्रेसमा गच्छादार पनि प्रभावशाली अन्य नेता जस्तै भ्रष्टाचार प्रकरणका कारण अहिले ओझेलमा छन्। सुनसरीस्थित उनको घरमा अदालतले सूचना टाँसेको छ, उनी ललितानिवास प्रकरणमा पक्राउ गरिन सक्ने नेता हुन्।
सुनसरी–३ बाट निर्वाचन जितेर प्रतिनिधि सभा सदस्य बनेका उनको सांसद पद खारेज भएको छ। भ्रष्टाचार प्रकरणमा उनको मुद्दाले किनारा नपाएसम्म राजनीतिको फ्रन्टलाइनमा उनी देखिने सम्भावना कम रहेको छ।
पछिल्लो पटक नेपाली कांग्रेसमा पार्टी बिलय गराएपछि उनी उपसभापति बनेका थिए। ‘कांग्रेसमा अक्सर प्रभावशाली रहेका नेता भ्रष्टाचार प्रकरणले ओझेलमा पुग्छन् र राजनीति नै धराशायी बनेका विभिन्न उदाहरण छन्’, एक कांग्रेस नेता भन्छन्।
कुनै समय प्रभावशाली मानिने गोविन्दराज जोशी, चिरञ्जिवी वाग्ले, स्व. खुमबहादुर खड्का, जयप्रकाश गुप्तालगायतका नेता पनि यस्तै प्रकरणले कांग्रेसको राजनीतिसँगै केन्द्रीय राजनीतिबाट किनारा धकेलिएका थिए।
‘कांग्रेसभित्रको आन्तरिक स्पर्धाको चपेटाले पनि नेताहरू कुनै प्रकरणका माध्यमले साइड लगाइन्छन्’, कांग्रेस स्रोतले भन्यो,‘भ्रष्टाचार प्रकरण मात्र होइन आन्तरिक राजनीतिक स्पर्धा पनि यसको मुख्य कारण बन्ने गरेको छ।’
जोशीको स्पर्धा बरिष्ठ नेता रामचन्द्र पौडेलसँग थियो। पौडेलसँगको राजनीति लडाईका कारण उनलाई किनारा धकेलियो। तैपनि बेलामौका जोशी पौडेललाई धक्का दिन सफल हुन्छन्।
यस्तै वाग्ले, खड्कालगायतले कांग्रेसमा तिव्र गतिमा उदय गर्ने भएपछि गिरीजाप्रसाद कोइराला र उनका नजिक रहेका मानिसले किनारा लगाएको बताइन्छ।
अहिले गच्छादारको स्पर्धा अर्का उपसभापति विमलेन्द्र निधिसँग रहेको बताइन्छ। दुवै तराईको प्रतिनिधित्व गर्ने र प्रभाव राख्ने भएकाले आन्तरिक स्पर्धा तेजिलो थियो। यहि क्रममा ललितानिवास प्रकरणमा गच्छादारलाई साइड लगाउने कोशीश भएको कतिपयको मान्यता छन्।
‘सोही प्रकरणमा प्रधानमन्त्री रहेका माधवकुमार नेपाल, बाबुराम भट्टराईलाई केही नहुने र गच्छादारलाई मात्र अदालत र कानुनले पछ्याउने भन्ने त राजनीतिक दबाब र कारण पनि रहेको भन्ने बुझ्नुपर्दछ’, एक नेता भन्छन्,‘कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा पनि अहिले गच्छादारको मौनताको कारण बनिरहेको छ।’
गच्छादार आफ्नो चुनावी क्षेत्रमा मात्र नभएर समग्र तराईमा प्रभाव राख्ने नेता हुन्। तत्कालिन फोरममा वरिष्ठ नेताको हैसियतमा पुगेका उनले ०६४ मा सर्वाधिक मत ल्याएका थिए। त्यसयता उनले चुनाव हारेका थिएनन्।

